काठमाडौं - चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको  हिल्सामा  स्थापना  भएको  सीमा  सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही  दिनअघि  हिमपात  भएको  र  तापक्रम  माइनस सात डिग्री सेल्सियससम्म झरे पनि सुरक्षाकर्मीले नियमित गस्ती छोडेका छैनन् ।

हिल्साको  सीमा  सुरक्षा  चौकीका  इञ्चार्ज  सशस्त्र  प्रहरी  निरीक्षक सुरज केसीको नेतृत्वमा रहेको टोलीले किट क्षेत्र, लिमी र नारातर्फ सीमा स्तम्भको निरीक्षण गर्दै आएको छ । अहिले यहाँको तापक्रम माइनस सात  डिग्री  सेल्सियससम्म  झरिसकेको  र  अझै घट्ने क्रममा रहेको इञ्चार्ज केसीले जानकारीे  दिए  । 

बिहान  उठ्दा  धारा,  शौचालय, बाल्टिनमा राखिएको पानी जम्ने गरेको जानकारी  दिँदै  जटिल  अवस्थामा  पनि  सीमा  क्षेत्रमा  अवाञ्छित  गतिविधि  नहोस्  भनेर  गस्ती  जारी  राखिएक उनले  स्पष्ट पारे । बीओपीमा २० देखि २५ जना सुरक्षाकर्मी बस्नुपर्नेमा हिल्सामा हाल २० जना छन् ।

चार हजार छ सय मिटर अग्लो नारा लेकमा बाक्लो हिउँ छ र हावा पनि लाग्ने भएकाले समस्या हुने गरेको छ । हिल्सा कर्णाली नदीको गहिरो खोँचमा भएका कारण हिउँदमा घाम पनि थोरै समय लाग्छ । हावा पनि त्यतिकै चल्ने भएको हँुदा त्यहाँको बसाइँ कष्टकर हुने गरेको छ । हिमपातका कारण मङ्सिरदेखि चैतसम्म नारा लेकमा आउजाउ बन्द हुन्छ ।

 गोरखापत्र दैनिकबाट