काठमाडौं -  स्ट्राइकर एर्लिङ हालान्डको उत्कृष्ट दुई गोल र गोलकिपर ओर्जान निल्यान्डको उत्कृष्ट बचाउको मद्दतले नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

न्युयोर्क न्युजर्सी स्टेडियममा भएको रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा नर्वेले पाँच पटकको विजेता ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको हो।

नर्वे विश्वकपको अन्तिम आठ (क्वार्टरफाइनल) मा पुगेको यो इतिहासमै पहिलो पटक हो। यस पराजयसँगै ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको हो। 

खेलको १५औँ मिनेटमा क्रिस्टोफर एजेरले म्याथियस कुन्हालाई लडाएपछि भिएआर (VAR) को सहयोगमा ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। तर, ब्राजिलका ब्रुनो गुइमारेसको प्रहारलाई नर्वेका ३५ वर्षीय अनुभवी गोलकिपर निल्यान्डले उत्कृष्ट बचाउ गरे।

पहिलो र दोस्रो हाफमा ब्राजिलका भिनिसियस जुनियर, ग्याब्रियल मार्टिनेली र वैकल्पिक खेलाडी एन्ड्रिकका अनेकौं प्रहारलाई निल्यान्डले असफल तुल्याएका थिए।

खेलको ७९औँ मिनेटमा वैकल्पिक खेलाडी एन्ड्रियास श्जेल्डेरुपको उत्कृष्ट क्रसमा हालान्डले सशक्त हेडिङमार्फत गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाए।