काठमाडौं,बुटवल - आइतबार बिहानदेखि तातेको लुम्बिनी प्रदेशको राजनीति झनै तात्दै गएको छ । एमालेको तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलले बिहानै राजीनामा दिएका थिए ।

त्यसपछि बसेको एमाले संसदीय दलको बैठकले पुनः एमालेको नेतृत्वमा सरकार गठन गर्ने भनिरहेको बेला एक सांसदले माओवादी केन्द्रमा प्रवेश गर्ने बताएपछि एमालेको बहुमत नपुग्ने भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट उपनिर्वाचन जितेकी सांसद विमला वलीले माओवादी केन्द्र रोजेपछि सरकार गठनमा एमालेको बहुमत नपुग्ने देखिएको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको अवस्थामा सांसद वली दल रोज्न स्वतन्त्र हुन्छिन् । सोही कारण उनी माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् । २०७६ मंसिरमा भएको चुनावमा वलीले दाङ ३ (ख)बाट चुनाव जितेकी थिइन्। उक्त क्षेत्रमा सांसद रहेका उनका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको थियो ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ जना सांसद रहेको भएपछि जनता समाजवादी पार्टी (जसपा)ले ४ जना तथा माओवादी केन्द्रले २ जना सांसदलाई कारबाही गर्दा जम्मा ८१ जनामात्रै प्रदेशसभा सदस्य छन् । एमालेसँग अब ४० जनामात्रै सांसद रहेकोले शंकर पोखरेल मुख्यमन्त्री बन्नको लागि यो संख्या पर्याप्त हुँदैन ।