काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका छन् । 

बुधबार दिउँसो छलफलका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका हुन् । अहिले प्रचण्ड, ठाकुर र महतोबीच छलफल भैरहेको एक नेताले जानकारी दिए । 

नयाँ सत्ता समीकरणका लागि प्रचण्डले छलफल तीव्र बनाएका छन् । मंगलबार मात्रै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेता बाबुराम भट्टराई भेटेका थिए । 

बुधबार बसेको माओवादीको स्थायी कमिटी बैठकले सत्ता समीकरणलगायतको विषयमा छलफल गर्ने जिम्मा प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई दिएको छ ।