इजरायल र इरान भ्रमण नगर्न परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौं - नेपाल सरकारले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यस क्षेत्रको भ्रमण, ट्रान्जिट वा कामको लागि जाने तयारी गरिरहेकालाई हालको संवेदनशील अवस्थालाई ध्यानमा राखी योजना स्थगित गर्न आग्रह गरेको हो ।
मन्त्रालयले बुधबार यात्रासम्बन्धी जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको र उनीहरूको हितको रक्षा गर्न आवश्यकताअनुसार कदन चालिने जनाएको छ ।
आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बंकर रसेल्टरबाट बाहिर ननिस्कन मन्त्रालयले निर्देशन दिएको छ ।
‘इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रूपमा लिन र पालना गर्नुहुन अनुरोध छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
परराष्ट्रले नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नेपाली राजदूतावाससँग नियमित रुपमा सम्पर्कमा रहनु हुन तथा परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रुपमा हेर्नु हुन अनुरोध छ ।’
इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस