काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवहारिक रूपमा संविधान अपूर्ण रहेको देखिएको खण्डमा संशोधन गर्न सकिने बताएका छन् । औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गरिने उनको भनाइ छ ।

शुक्रबार बालुवाटारमा ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन् । उनले विश्वकै तुलनामा सम्भवतः बढी मौलिक हकहरुको प्रबन्ध गरिएको नेपालको संविधान एक गतिशील दस्तावेज भएको उल्लेख पनि गरे ।

‘यो संविधानले गणतन्त्र, लोकतन्त्र र आवधिक निर्वाचनको ग्यारेन्टी त गरेको छ नै, सबैभन्दा महत्वपूर्ण कुरा यसले राष्ट्रिय एकता स्थापित गरेको छ, हालै भएको संविधान संशोधनको क्रममा देखिएको एकताले त्यसको पुष्टि गरेको छ’ उनले भने । आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने उनको भनाई छ । ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिना बहकाउ तयारी रहनुपर्छ’ उनले भने । 

प्रधानमन्त्री ओलीले जनताको लामो समयको बदिलदानपूर्ण सङ्घर्षपछि जननिर्वाचित संविधानसभाले जनताको स्वामित्व निर्माण गरी संविधान जारी गरेकाले यसले अवसरको समान उपलब्धता सिर्जना गरी जन्मसिद्ध श्रेष्ठता (कोही शासक, केही शासित) को अवैज्ञानिक मान्यतालाई तोडिदिएको उल्लेख गरे । मानवीय सुरक्षा, सभ्यता र विकासलाई प्राथमिकतामा राखेको संविधानले समृद्धिका साथै मानवोचित र विकसित वैज्ञानिक समाजवादको लक्ष्य प्रतिविम्बित समेत स्पष्ट गरेको बताए । प्रधानमन्त्री ओलीले समाजवादलाई सामाजिक न्याय, समानता र उपलब्धिमा सबैको हिस्सेदारीसहितको प्रणालीका रुपमा बुझ्न आग्रह गर्दै त्यस्तो समाजमा खुल्लापन, शान्तिसुरक्षा, विधिको शासन र न्यायका सुप्रबन्धहरु हुने स्पष्ट गरे ।