काठमाडौं - विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका कांग्रेसका पूर्व सांसद सन्तोष चालिसेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सोमबार पाँच लाख रुपैयाँ वा सो बराबरको बैंक जमानत बुझाएर धरौटीमा रिहा गर्न आदेश दिएको हो।

'प्रतिवादी सन्तोष चालिसेबाट पाँच लाख रुपैयाँ नगद धरौट वा सो बराबरको बैंक जमानत लिई तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु। यदि धरौटी रकम बुझाउन नसके कारागार कार्यालय पठाइदिनू,' विशेषको आदेशमा भनिएको छ।

२०७९ सालमा काठमाडौं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुअघि उनी गोकर्णेश्वर नगरपालिकाका मेयर थिए। उनी प्रतिनिधिसभाको अर्थ समितिका निवर्तमान सभापति समेत हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेमाथि ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाउँदै गत मंसिर २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अनुसन्धानका क्रममा चालिसेले करिब ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेका भए पनि ४ करोड ८८ लाख रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेको देखिएको अख्तियारको दाबी छ। बाँकी रकम गैरकानुनी आर्जन भएको भन्दै अख्तियारले त्यही आधारमा मुद्दा दायर गरेको थियो।

उनले सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।

सम्पत्ति जफतको मागसहित अख्तियारले चालिसेसँगै उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जिव तथा बुहारी प्रमिला पोखरेललाई पनि प्रतिवादी बनाएको छ। चालिसेले भने आफूमाथि झुटो आरोप लगाइएको र आफूले कानुन बमोजिम नै सम्पत्ति आर्जन गरेको दाबी गर्दै आएका छन् ।

आदेशपछि उनी धरौटी बुझाएर रिहा हुने प्रक्रियामा लागेका छन्। चालिसेले तारिखमा रिहा भई मुद्दाको थप प्रक्रिया बाहिरबाटै अघि बढाउन पाउनेछन् ।