पुनर्स्थापित एमाले नजुट्दै फुट्ने तयारीमा
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजे काठमाडौँको एक होटलमा बस्ने तय भएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् । यस्तो अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा आगामी रणनीति बनाउन नेताहरुसँग छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
२०७५ जेठ ३ गते भएको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई बनेको नेकपालाई गत फागुन २३ गते सर्वोच्चले खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्र व्यूँतिएका छन् । व्यूँतिएको एमालेको अध्यक्ष ओलीसँग नेपाल खनाल पक्ष रुष्ट छ ।
गत फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल-नेपाल पक्षले जिल्लाहरूमा समानान्तर कमिटी बनाउने रणनीति बनाउनुका साथै राष्ट्रिय कार्यकर्ता भेलाको आयोजनासमेत गरेको थियो ।
बिहीबारमात्रै नेता नेपालको उपस्थितिमा गण्डकी प्रदेशमा समानान्तर कमिटी गठन भएको छ । उक्त भेलामा नेता नेपालले ओलीलाई अध्यक्षबाट हटाएर केन्द्रमा पनि नयाँ कमिटी गठन हुने घोषणासमेत गरेका छन् । यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने र कमिटीका बैठकहरू नियमित गर्नसमेत नेता नेतालले सुझाएका थिए । योसँगै संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस