काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल ‘पानी बाराबार’को स्थितिमा पुगेको झन्डै तीन महिना भयो। यो पार्टीमा जुन ‘घाउ’ लागेको थियो त्यो अझै निको हुन पाएकै छैन। यही बेला सरकारले दल विभाजन गर्न सहज हुने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि ‘नुनचुक’सरह भएको छ। 

सरकारले सोमबार अकस्मात् प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेपछि नै राजनीतिक वृत्त तात्यो। दल फुटाउने अध्यादेश ल्याउन लागेको भन्दै एमाले अध्यक्ष ओलीले राति नै एकताका पक्षमा विज्ञप्ति जारी गरे। तर, त्यसले नेपाल पक्षलाई छोएन। बरु अध्यादेश ल्याउने निर्णयसँगै एमाले एकताको ‘च्याप्टर क्लोज’ भएको टिप्पणी गर्न थालियो। 

ओली पक्षले नेपाल पक्षका १४ सांसदको पद खारेजीका लागि संसद् सचिवालयमा पत्र पठायो। नेपाल पक्षले भने आफ्नो पक्षका सांसदको हस्ताक्षर संकलन गरेको छ। मुलुकको पुरानो र ठूलो कम्युनिस्ट पार्टी एमाले कुनै पनि बेला ‘विस्फोट’को अवस्थामा छ।   सरकारले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको हो। राष्ट्रपतिबाट जारी भएपछि एमाले विभाजन सानोतिनो प्रयासले नरोकिने एकतामा सक्रिय नेता नै बताउँछन्। 

अन्नपूर्ण पोष्ट दैनिकबाट