काठमाडौं,पोखरा - गण्डकी प्रदेशसभाका सभामुखले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने भएका छन् । स्थगित विशेष अधिवेशनको बैठक कहिले बोलाउने भन्ने सन्दर्भमा सभामुखले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने भएका हुन् । 

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वदलीय बैठक आह्वान गरेर निकास खोज्ने सहमति भएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता सहभागी हुने गरी सर्वदलीय बैठक बोलाइने र सोही बैठकले विशेष अधिवेशनको स्थगित बैठकपछिको घटनाक्रम समीक्षा गर्दै निकास खोज्ने निर्णय गरेको हो ।

सर्वदलिय बैठक कहिले बस्ने भन्नेबारेमा भने केही पनि बताइएको छैन । सभामुखले चाँडै नै अनुकुल समय मिलाएर सर्वदलीय बैठक बोलाउने समझदारी भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची रहेकै दिन राष्ट्रिय जनमोर्चाका एक सांसद सम्पर्कविहीन भएपछि प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको थियो ।