काठमाडौं - आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज साँझ ५ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको सचिवालयले जनाए अनुसार आज नियमित बैठक बस्न लागेको हो । यसअघि मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

आइतबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका तीनवटा मोडेलमा छलफल भएको थियो । पहिलो सुरुमा मन्त्री भएका सबैलाई बिदाइ गर्ने, दोस्रो दुई वर्ष पूरा गरेकालाई बिदाइ गर्ने र तेस्रो विकल्पका रुपमा कार्य सम्पादनको मूल्याकनका आधारमा हेरफेर गर्नेबारे छलफल भएको थियो । 

सचिवालयमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठले कार्यसम्पादनका आधारमा मन्त्रीहरु फेरफेर गर्नुपर्ने सुझाव दिएका थिए ।