काठमाडौं - सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले सो आदेश दिएको हो ।  काभ्रेपलान्चोक र सुर्खेतका दुई ज्येष्ठ नागरिकले खोप माग गर्दै सोमबार रिट दायर गरेका थिए। काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले रिट दायर गरेका हुन्।

विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म लगाउन सकिने सिफारिस गरेको छ । तर नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसकेको छ ।

१५ हप्ता पुगिसक्दासमेत नपाएपछि उनीहरुले रिट हालेका हुन् ।