काठमाडौँ - सरकारले वृक्षारोपण वर्षको औपचारिक सुरुवात आजदेखि सुरु गरेको छ। कार्यक्रम उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर पुलछेउ वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरे ।

प्रधानमन्त्री ओलीले वृक्षारोपणमा जोड दिनुपर्ने बताएका छन् । कोटेश्वर–कलङ्की सडकखण्डमा शनिबार सुरु गरिएको वृक्षारोपण कार्यक्रममा उनले भने, ‘सबैले आफूँअनुकूल वृक्षारोपण गरौं । छतमा ठाउँ भए छतमा फलफूल लगाऔं तरकारी किन्न झोला बोकेर बजार होइन, कौसीतिर जाऔं ।’ प्रधानमन्त्री ओलीले देशैभर वृक्षारोपण कार्यक्रम मनाउँदै बिरुवा रोपिने बताए । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, वनमन्त्री शक्ति बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, अर्थमन्त्री युवराज खतिवडाको उपस्थिति रहेको छ । कोटेश्वर–कलङ्की सडकखण्डमा दुई हजार ७ सय बिरुवा रोपिने छ ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा अव्यवस्थित भिडका कारण अन्य केही मन्त्री र अतिथिहरुले भने बिरुवा रोप्नै पाएनन्। सेल्फी खिच्नेहरुको अव्यवस्थित भिडमा घेरिएर प्रधानमन्त्रीले बिरुवा रोपे पनि अरु अतिथिहरुले त्यो मौका पाएनन्। वृक्षारोपण कार्यक्रमका लागि भनेर मन्त्री, सुरक्षा निकायका प्रमुखहरु, विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो। तर, प्रधानमन्त्रीले उद्घाटन सकेपछि अतिथिका लागि छुट्याइएको ठाउँमा सर्वसाधारणको भिड लाग्यो। अतिथिहरु रोप्न नपाई फर्किए। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले भने देशभर रुख रोप्नका लागि तल्लो निकायका कमिटीहरुलाई पत्राचार गरिसकेको छ।

 क्लस्टरमा वृक्षारोपण

वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न ९ स्थानमा ’क्लस्टर’ निर्धारण गरेको छ। 

जसमा कोटेश्वरदेखि बालुकुमारीसम्म, बालुकुमारीदेखि ग्वार्कोसम्म, ग्वार्कोदेखि बी एन्ड बी अस्पताल अगाडिसम्म, बी एन्ड बी अस्पतालदेखि सातदोबाटोसम्म, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म, महालक्ष्मीस्थानदेखि एकान्तकुनासम्म, एकान्तकुनादेखि बागडोलसम्म, बागडोलदेखि बल्खुसम्म र बल्खुदेखि कलंकीसम्म ९ वटा केन्द्र तोकिएका छन्।

कुन–कुन प्रजातिका बिरुवा रोपिन्छन् ?

वृक्षारोपणका अवसरमा शनिबार चक्रपथको कोटेश्वरदेखि कलंकीसम्म २७ सय बिरुवा रोपिनेछन्। जसमा हालसम्म पत्ता लागेकामध्ये संसारकै सबैभन्दा पुरानो प्रजाति मानिएको चिनियाँ गिन्कोसहित असारे फूल, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, पावलेजस्ता बिरुवा छन्।

उत्सवका रुपमा वृक्षारोपण

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल सरकारको निर्णयअनुसार सुरु भएको वृक्षारोपण अभियान एक वर्षसम्म जारी रहने बताए। 

उनले आगामी एक वर्षलाई वृक्षारोपण उत्सवका रुपमा मनाइने उल्लेख गरे। आगामी एक वर्षभित्र काष्ठरगैरकाष्ठ, फलफूल तथा जडिबुटीका गरी करिब ५ करोड बिरुवा रोप्ने तयारी छ।

देशभरका सरकारी नर्सरीहरुमा हाल करिब दुई करोडभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रहेको बताउँदै उनले बाँकी बिरुवा निजी क्षेत्रका नर्सरीमा रहेको र उनीहरुसँग खरिद गरिने जानकारी दिए। एक वर्षभित्र रोपिएका सबै बिरुवाको अखिभेलसमेत राखिने उनले स्पष्ट पारे।प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा आज वृक्षरोपण शुभारम्भ गरेका छन् ।

चालू आर्थिक वर्ष २०७५/७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडकखण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार ७०० बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालू आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ ।