काठमाडौं-अविरल वर्षाका कारण काठमाडौंलगायत देशभरको जनजीवन प्रभावित भएको छ । वर्षापछि गएको पहिरोले मकवानपुरमा एक घर बगाएको छ । मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता भएका छन् । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ । अक्कलबहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

सोमबार रातीदेखि भएको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा पनि डुबान भएको छ । सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुंगेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुसी, अनामनगर लगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, ‘भारी वर्षाले काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पेट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।’

यसैगरी भारी वर्षाका कारणसडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बाढीकै कारण काठमाडौंको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको नीलो पुल र मूलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अविरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आँकलन गरेर ठाउँठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आमनागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए । अविरल वर्षाले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको गोदावरी नगरपािलका–४ बुढीतोलास्थित राजमार्ग पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको हो ।