ओली-प्रचण्डले घुस खाएको प्रमाण पेश गर्न बाबुरामलाई नेकपाको चुनौती
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी जलविद्युत आयोजनामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार गरेको भनी लगाएको आरोप प्रमाणित गर्न डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ ।
बुधबार प्रवक्ता नारायणकाजी श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गरी अध्यक्षद्वयमाथि भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको उल्लेख गर्दै पूर्ण रुपमा खारेज र भत्र्सना गरेका हुन् । श्रेष्ठले कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती पनि दिएका छन् ।
‘हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौँ ।’ उनले भनेका छन्, ‘यद्यपि त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेती मात्र हो भन्ने स्पष्ट नै छ । तसर्थ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनुपर्दछ ।’
केहीदिनअघि भट्टराईले गोरखा पुगेर प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको आरोप लगाएका थिए । आवश्यक परेको खण्डमा उक्त आरोपको प्रमाण आफूसँग रहेको र पुष्टि गर्न सक्ने बताएका थिए । यस विषयमा नेपाली कांग्रेसले यसअघि नै प्रमाण पेश गर्न चुनौती दिइसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस