काठमाडौं - फ्रान्स र अस्ट्रियामा आतंककारी हमला बढेपछि युरोपेली मुलुकहरूले आफ्नो सीमामा सुरक्षा व्यवस्था कडा पार्दै लगेका छन् ।

फ्रान्सको राजधानी पेरिसको काँठ क्षेत्रका एक शिक्षकको हत्यासँगै फ्रान्समा लगातार आतंककारी हमला भएपछि युरोपेली मुलुकहरूले आ–आफ्ना देशको सीमामा उच्च सतर्कता अपनाएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फ्रान्सको निस, लियों, पेरिस र अस्ट्रियाको राजधानी भियनामा समेत आक्रमण गरिएपछि आतंककारीहरूले युरोपेली देशमा निर्बाध घुमफिर गर्न पाउने सेन्जेन भिसाको सुविधा दुरुपयोग गरेको भन्दै युरोपेली मुलुकले सीमामा कडाइ गरेका हुन् ।

फ्रान्समा लगातारको आतंककारी हमलापछि राष्ट्रपति एमानुयन म्याक्रोंले चर्च, स्कुल र धार्मिक स्थलहरूको सुरक्षाका लागि थप ४ हजार सेना खटाउने बताइसकेका छन् । तर सीमा क्षेत्रमा खटाइने सेनाको संख्याबारे उनले केही बताएका छैनन् ।

उता अस्ट्रियाले पनि आतंककारी हमलापछि आफ्नो सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको छ । त्यसैगरी, जर्मनी, बेल्जियम, स्विट्जरल्यान्ड, स्पेन, इटालीलगायत मुलुकले पनि सीमामा सुरक्षा व्यवस्था कडा पारेका जनाइएको छ ।

फ्रान्स र अस्ट्रियामा हालै भएका आतंककारी आक्रमणपछि फ्रान्सेली राष्ट्रपति म्याक्रोंले युरोपेली मुलुकले आफ्नो खुला सीमालाई कडाइ गर्नुपर्ने बताएका थिए । यस क्षेत्रका बाहिरी सीमाहरूमा अझै बढी सुरक्षा सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

गैरकानुनी रूपमा युरोप प्रवेश गर्ने आप्रवासीमध्ये केहीले तस्करी गर्ने, आपराधिक गिरोहसँग साँठगाँठ गर्ने तथा आतंककारीहरूको सञ्जालसँग जोडिने गरेको उनको दाबी छ । म्याक्रोंले डिसेम्बर महिनामा हुने युरोपेली युनियनका साझेदारहरूबीचको शिखर सम्मेलनमा फ्रान्सका तर्फबाट साझा सीमालाई थप कडाइ पार्नुपर्ने विषयमा प्रस्ताव लगिने पनि सार्वजनिक गरेका छन् ।

 कान्तिपुर दैनिकबाट