भदौमा महाधिवेशन सम्भव छैन : महामन्त्री डा. कोइराला
काठमाडौं, चितवन - नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए ।
उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्छ भने । कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनले जानकारी दिए ।
उनले भने, ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु, संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ, सबै निर्वाचन लडे हारिन्छ, एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’ फरक प्रसङ्गमा उनले आफू मन्त्रिमण्डलमा सहभागि नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस