काठमाडौं - नेकपा नेता तथा पुराना वामपन्थी नेता एवं मार्क्सवादी चिन्तक स्वनाम साथी (शसी शेरचन) को शुक्रबार राति निधन भएको छ। उनको उपचारको क्रममा काठमाडौँस्थित मोडेल अस्पतालमा निधन भएको हो।

उनको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो। त्यसपछि कोरोनाभाइरस संक्रमण भएर उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए। पछिल्लो समय उनलाई निमोनिया पनि भएको थियो।

उनको जन्म म्याग्दीको अर्मनमा १७ साउन २००७ मा भएको थियो। उनले निकै ढिला गरी २०७० सालमा मात्र किरण गौतमसँग विवाह गरेका थिए। विवाह गर्दा उनी ६३ र किरण ३४ वर्षका थिए। उनीहरुका सन्तान छैनन्।

स्वनाम साथीले २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। २०३३ सालमा आफ्नै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लिग गठन गरेका थिए। त्यसपछि नेकपा मसाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी) हुँदै पछिल्लो समय नेकपामा सक्रिय थिए। उनलाई माक्र्सवादी चिन्तकका रुपमा पनि चिनिन्थ्यो। उनी सिद्धान्तनिष्ठ र आदर्श कम्युनिष्ट नेता थिए।

यसैबीच नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका राष्ट्रिय सल्लाहकार परिषद् सदस्य स्वनाम साथीको निधनप्रति दुःख व्यक्त गरेका छन्। अध्यक्ष दाहालले आज शोक वक्तव्य जारी गर्दै आन्दोलनप्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जलि स्वनामको आदर्शपूर्ण पक्षका रूपमा रहेको बताएका छन्।