काठमाडौं  -  बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो ।

खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका  नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताए । नगरबासीमध्ये कोभिसिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् ।

 त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप सात हजार २०० जनाले लगाएका छन् । नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग असिमित रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताए । 

थोरै मात्र खोप प्राप्त हुँदा  एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले  दुरुपयोग हुन नदिन वडावडामा खोप केन्द्र राखिएको उहाँले जानकारी दिए ।  यसअघि यहाँ दुईवटा मात्र खोप केन्द्र सञ्चालन गरिएकामा शुक्रबारदेखि आठवटा  खोप केन्द्र सञ्चालन गरिएको थियो ।