काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् ।

संविधान दिवस र राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र  बलिदानको महत्वपूर्ण देन रहेको बताएका छन् । ‘जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग हो संविधान’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो ।’

ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको बताएका छन् । ‘संविधान सहमतिको दस्तावेज हो । यसले हरेक व्यक्तिका आकांक्षालाई जस्ताको तस्तै पुुरा गर्दैन तर बृह्त्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको छ’  प्रधानमन्त्री ओलीले भने, ‘संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ ।’

प्रधानमन्त्री ओलीले संविधान दिवस नेपाली जनताको उत्सवको दिवस भएकोले यसलाई राष्ट्रिय दिवसको रुपमा समेत मनाइएको बताएका छन् ।

‘संविधान दिवसलाई भव्यता र व्यापकताका साथ मनाउनु पर्दछ’ ओलीले भने ‘यो नेपालका सबै दिवस भन्दा ठुलो दिवस हो । यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रुपमा मनाउनु पर्दछ । घरघरमा दिपावली मनाउनु पर्दछ ।’

संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएकोे नेपालको संविधानले हाम्रो गौरवपूर्ण परम्परा,वर्तमान नेपालको अवस्था र भावी नेपालको मार्गदिशा तय गरेको बताएका छन् ।