काठमाडौं - कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर राना रहेका छन् । उनलाई आइतबार धनगढी–१४ फूलबारीबाट पक्राउ गरेर सोमबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

रानालाई आजै अदालतमा पेस गरिने प्रहरीले जनाएको छ । यसअघि नै प्रहरीले हत्या आरोपमा ८ जनालाई पक्राउ गरिसकेको छ । हाल उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । राति मोटरसाइकल गस्तीमा हिँडेका असई विक र जवान साउदले नेपालबाट भारत केराउ तस्करी गर्ने क्रममा अवरोध पुर्याएपछि हत्या गरेको उनीहरुले स्वीकार गरेका थिए ।