काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत् प्राधिकरण देशले गर्व गर्न लायक सार्वजनिक संस्थाका रुपमा स्थापित भएको बताएका छन् । 

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले पछिल्लो समय प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभइ सेवामुखी संस्थाका रुपमा स्थापित गर्न सकेकामा खुसी व्यक्त गरे ।

प्राधिकरणको चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमता सुधारका कारण इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको उनले बताए । 

घरेलु ग्राहकको विद्युत महसुल घटाउन सफल भएको तथा मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने करिब ८ लाख विपन्न ग्राहकलाई पूर्ण रुपमा विद्युत महसुलमा छुट दिइएको मन्त्री पुनले स्पष्ट पारे ।

सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा नीति कार्यक्रममार्फत मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ ।

‘विद्युत महसुल दरमा वृद्धि नगरिकन चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमतामा सुधार ल्याई प्राधिकरण आफ्नो इतिहासमा सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ’, मन्त्री पुनले भने। 

सन्देशमा मन्त्री पुनले प्राधिकरणले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयको योजना तथा नीतिहरुलाई आफ्नो केन्द्रीय योजना तथा सञ्चालन प्रक्रियामा समावेश गरेर कार्यान्वयन गरी नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पुर्‍याएकाे उल्लेख गरेका छन् । 

मन्त्रालय, विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरण बीचको एकता र समन्वयबाट विद्युत आपूर्ति वृद्धि गर्न एवं स्वदेशमा उत्पादित विद्युत हरेक घरधुरी र व्यापार व्यवसायका लागि सुलभ दरमा उपलब्ध गराउने प्रतिबद्धता मन्त्री पुनको छ । 

मन्त्री पुनले प्राविधिक तथा व्यापारिक चुहावट न्यूनीकरण र प्रसारण तथा वितरण प्रणालीमा सुधारका कारण हाल नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न सकिएको उल्लेख गरे ।