काठमाडौं - बाँके निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनेका खगेन्द्र सुनारको राष्ट्रिय जनावर गाईसम्बन्धी अभिव्यक्ति विवादित बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा सुनारले रास्वपामा आवद्ध हुनुअघि व्यक्त गरेका अभिव्यक्तिका कारण समाजमा उत्पन्न अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पार्टीको तर्फबाट क्षमायाचना गरिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा सुनारले आफू शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको तथा राष्ट्रिय जनावर गाईप्रति पूर्ण सम्मान रहेको सार्वजनिक रूपमा स्पष्ट पारिसकेको जनाइएको छ।

सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरू तोडमोड गरी प्रचार गरिए पनि त्यसबाट उत्पन्न भ्रम र भावनात्मक ठेसप्रति उनले आत्मालोचना गर्दै क्षमायाचना गरिसकेको पार्टीको भनाइ छ।

महामन्त्री बुर्लाकोटीका अनुसार पार्टीले उम्मेदवार सुनारलाई उक्त विषयमा औपचारिक रूपमा सचेत गराउँदै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन दिएको छ।

सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

621814897_1588483389017028_7079405038283157291_n