काठमाडौं - एनआईसी एशिया बैँक लिमिटेडले चालू आ.व. २०७८/७९ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७४.७४ अर्ब पु-याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०२.८१ अर्ब पु-याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. ३.६० अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । 

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ भने २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमासमेत कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न सफल भएको बैंकले जनाएको छ । 

बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

यस बैंक आ.व. २०७८/७९ को दोस्रो त्रयमासमा कर्जा विस्तार, निक्षेप संकलन, प्रति शेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था अघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको थियो । 

यो बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।