काठमाडौं - ०६५/६६ बाट निर्माण सुरु भएको हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ । १२ वर्षमा बल्ल उक्त प्रगति हासिल गरेको यो आयोजना निर्माण यही गतिमा काम हुने हो भने अझै त्यति नै समय लाग्न बेर छैन ।

जब कि यो आयोजनामा संघीय सरकारकै सबैजसो अधिकारीदेखि सरोकारवाला निकायको अत्यधिक चासो, अनुगमन, निगरानी र प्राथमिकतासाथ बजेट विनियोजन हुने गरेको छ । तर पनि आयोजनाको प्रगति लक्ष्यअनुसार छैन । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना रहे पनि अन्य ठूला सडक आयोजनाको उदाहरण यस्तै छ । निर्माणले गति लिनुको सट्टा झमेलामा परेका छन् ।

हुलाकी राजमार्ग आयोजना सुरुमा भारत र नेपाल सरकारबाट संयुक्त रूपमा सञ्चालित थियो । भारतबाट निर्माण व्यवसायी र परामर्शदाता आएर काम भयो । तर भारतीय निर्माण व्यवसायीले बीचमै काम छाडेपछि यसको स्वरूप परिवर्तन गरियो । नयाँ तरिकाबाट अघि बढ्दा भारतले ५ अर्ब भारतीय रुपैयाँ (नेपाली ८ अर्ब रुपैयाँ) हुलाकी राजमार्गलाई नियमित गर्ने भनिएको थियो ।

भारतीय सहयोगमा निर्माणाधीन १० वटा सडकको १४ वटा ठेक्का गरिएको आयोजनाका प्रमुख रोहित बिसुरालले जानकारी दिए । ८ वटा ठेक्काको काम सकिएको छ । निर्माण सकिएका सडक हस्तान्तरण गर्न बाँकी छ । हुलाकी राजमार्गअन्तर्गत ९ सय ७५ किमि मुख्य राजमार्ग पर्छ ।

सहायक सडकको दूरी ८ सय १७ किमि छ । सबै गरेर १ हजार ७ सय ९२ किमि रहेको यो राजमार्ग निर्माण सक्ने मिति ०७९/८० सम्म मात्र छ । तराई मधेसका २० जिल्ला भएर बन्ने सडकबाट ८० लाख जनसंख्या लाभान्वित हुनेछन् । प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रहेकामा संशोधित लागत ६५ अर्ब २० करोड छ ।

अर्को आशा जगाउने सडक हो, काठमाडौं–तराई मधेस द्रुतमार्ग । यो सडक सञ्चालनमा आए एकडेढ घण्टामै काठमाडौंबाट बारा पुगिनेछ । तर निर्माणमा आधा पनि प्रगति नभएकाले अझै केही वर्ष यो मार्ग हुँदै यात्रा गर्न पर्खनुपर्नेछ । यो द्रुतमार्ग निर्माण सक्ने लक्ष्य हो, आर्थिक वर्ष ०८०/८१ । तर अहिलेसम्म यसको भौतिक प्रगति ४२ प्रतिशत मात्र छ ।

मुख्य सुरुङ र पुल निर्माणको काम सुरु भएको छैन । जसले गर्दा तोकिएकै समयमा आयोजना सम्पन्न हुन कठिन छ । नेपाली सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट निर्माण थालिएको द्रुतमार्गको दूरी ७२ दशमलव ५ किमि छ । १ खर्ब ७५ अर्ब लागत रहेको यो द्रुतमार्गमा अझै पहाड कटिङ र माटो फिलिङको काम सकिएको छैन ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्गमा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्नमै ढिला भयो । समय धेरै भएकाले तोकिएकै समयमा काम सक्ने गरी निर्माण भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल बताउँछन् ।

परामर्शदाताले भनेअनुसार काम गर्न सके तोकिएकै समयमा आयोजना सक्न समस्या छैन । तोकिएकै समयमा काम सक्नेमा आफू विश्वस्त रहेको उनको दाबी छ । पहाड कटिङ र माटो फिलिङको काम ४ किलोमिटर बाँकी छ ।

१ दशमलव ५ किमि ०७७ माघ र थप २ दशमलव ५ किमि ०७८ को जेठसम्म सक्ने योजना रहेको उनले सुनाए । द्रुतमार्गमा कुल सडकमध्ये १० दशमलव ५९६ किमि पुल रहनेछ । केही समयअघि ललितपुर खोकनाका स्थानीयले जग्गाको मुअब्जा नपाएपछि उक्त मार्गमा पर्ने खेत खनजोत गर्दा विवाद भएको थियो । विवाद अझै सुल्झिएको छैन ।

आयोजना निर्माणको काम सञ्चालन गर्न सेनाले विभिन्न १० ठाउँमा क्याम्प राखेको छ । ३० वटा प्याकेजमा ठेक्का गरेर निर्माणको काम जारी छ । आयोजनाका अनुसार महादेवडाँडामा ३ दशमलव ३५५ किमि, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किमिको सुरुङ निर्माण हुनेछ ।

चर्चामै रहेको सडक हो, मदन भण्डारी लोकमार्ग । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण थालिएको लोकमार्गअन्तर्गत अहिले धरान–चतरा–सिन्धुली–हैटौंडा खण्डको काम मात्र अघि बढेको छ । अन्य खण्डमा कतै सर्भे नै भएको छैन, कतै निर्माण सुरु भएको छैन । झापाको बाहुनडाँगीबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल जोड्ने यो सडकको कुल दूरी १ हजार २ सय ५० किमि छ । यो मार्गबाट तराईका जिल्ला नछोई काठमाडौं जान सकिने मदन भण्डारी लोकमार्ग निर्देशनालयका प्रमुख उमेशबिन्दु श्रेष्ठले जानकारी दिए ।

पश्चिम खण्डमा सर्भेको काम सुरु गर्न बाँकी छ । धरान–चतरा–हेटौंडा खण्डमा सबैभन्दा पहिला टेन्डर भएको हो । यो खण्डमा कालोपत्रको काम चालु आर्थिक वर्षमा सकिने उनको दाबी छ । धरान–झापा खण्डमा पुलको ठेक्का भएको छ । चालु आवमै सडकको पनि ठेक्का लाग्ने उनको भनाइ छ । पश्चिमतर्फ बोटेचौर सुर्खेत र अन्य केही खण्डको ठेक्का गर्ने प्रयास भइरहेको उनले बतए । ‘१ हजार २ सय ५० मध्ये ७ सय ७० किमि जति हामी हेर्छौं,’ उनले भने, ‘त्यसबाहेक अन्य खण्ड सडक विभागकै आयोजनाले हेरिरहेका छन् ।’

धरान–चतरा–हेटौंडा खण्डको दूरी २ सय ५० किमि छ । यस खण्डमा ७६ वटा पुल पर्छन् । यो खण्डको काम अहिलेसम्म ८५ प्रतिशत सकिएको छ । चालु आर्थिक वर्षमा उक्त खण्डको सबै काम सकिने उनको दाबी छ । ०८२/८३ मा सडक सम्पन्न गर्ने लक्ष्य लिइए पनि अहिलेसम्म प्रायः खण्डमा ठेक्का भएको छैन । आयोजनाको अनुमानित बजेट ८० अर्ब रुपैयाँ रहेको उनले जानकारी दिए ।

आर्थिक वर्ष ०६४/६५ बाट निर्माण सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको अहिलेसम्मको भौतिक प्रगति ४८ दशमलव ९४ प्रतिशत छ । ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको लोकमार्गको काम आधा पनि सकिएको छैन । पाँचथरको चियोभन्ज्याङबाट सुरु भई बैतडीको झुलाघाटमा पुगेर टुंगिने सडकले पूर्वदेखि पश्चिमसम्मका २५ जिल्ला जोड्नेछ ।

१ हजार ८ सय ७९ किमि रहने सडकले २ सय १५ वटा बस्ती जोड्ने गरी निर्माण जारी छ । ०७४/७५ मा सम्पन्न हुने अनुमान गरिएको भए पनि समय संशोधन गरिएको हो । आयोजनाको प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड हो । संशोधित लागत भने ८४ अर्ब ३३ करोड छ । लकडाउनका बेला राम्रोसँग काम गर्न नपाएको आयोजना प्रमुख दीपक केसी बताउँछन् ।

यता कोसी (उत्तर–दक्षिण) लोकमार्गको काम ०६६/६७ बाट काम सुरु भयो । संखुवासभाको खाँदबारीबाट उत्तरी सिमाना किमाथांकासम्म १ सय ६२ किमि सडक निर्माण एवं स्तरोन्नति गर्ने लक्ष्य लिइएको छ । आयोजनाको कुल लागत १६ अर्ब २० करोड छ । सुरुमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्दा ट्र्याक मात्र खोल्ने भनेर आयोजना सुरु गरिएको आयोजना प्रमुख गौतम श्रेष्ठले बताए । ‘त्यति बेला आयोजना ४/५ अर्बको मात्र थियो,’ उनले भने, ‘अहिले कालोपत्र गर्ने काम थपिएकाले लागत बढेको हो ।’

अहिलेसम्म १ सय ४८ किमि ट्र्याक खुलिसकेको छ । त्यस्तै पुल निर्माणको काम जारी छ । आव ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य भए पनि अहिलेसम्म समग्र प्रगति २० प्रतिशत मात्र छ । ‘आयोजना थाल्दा सुरुको लक्ष्य कालोपत्र गर्ने भन्ने थिएन, ट्र्याक ओपन गर्ने मात्र थियो,’ श्रेष्ठले भने, ‘अहिले कालोपत्र पनि गर्ने भनिएको छ, त्यसैले कति समय लाग्छ थाहा छैन ।’ ट्र्याक खोल्ने काम मात्र हुँदा ५५ प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । कालोपत्रको योजना थपिएपछि भने प्रगति घटेको हो । अहिलेसम्म आयोजनाको समग्र खर्च ३ अर्बभन्दा बढी भएको श्रेष्ठले जानकारी दिए । कालीगण्डकी करिडोर (उत्तर–दक्षिण) लोकमार्गको दुई खण्डमा काम भइरहेको छ ।

नवलपरासीको गैंडाकोटदेखि मुस्ताङको कोरलासम्म ४ सय ३५ किमि रहेको लोकमार्गअन्तर्गत मालढुंगा–राम्दी–गैंडाकोट खण्डको कुल २ सय ४५ किमि सडक निर्माणको काम भइरहेको छ । यो खण्डका आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार अहिलेसम्म भौतिक प्रगति ३० प्रतिशत छ । ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य भए पनि तोकिएकै समयमा काम नसकिने उनी बताउँछन् । सडक निर्माणको काम ०६७ /६८ मा सुरु भएको हो ।

कुल अनुमानित बजेट २८ अर्ब ८० करोड रहेको आयोजनाको बेनी–जोसोम–कोरला खण्ड १ सय ८६ किमिको हो । यो खण्डमा सबै ट्र्याक खोलिसकिएको छ । कोरोना संक्रमण फैलिँदो रहेकाले काम राम्रोसँग हुन नसकेको बेनी–जोमसोम सडक आयोजनाका इन्जिनियर अश्विनीकुमार यादवले बताए । जोमसोमदेखि कोरला र बेनीदेखि जोमसोम दुई खण्ड छ । जोमसोमदेखि कोरलासम्म ८० प्रतिशत काम भएको छ ।

यो खण्डमा ग्राभेल सडक निर्माण गर्नुपर्नेछ । यसको दूरी १ सय १० किमि छ । बेनीदेखि जोमसोम ७६ किमि छ । यो खण्डमा ४५ प्रतिशत काम भएको छ । ०७३ फागुनबाट यी खण्डको काम सुरु भएको हो । ०८०/८१ मा सक्ने लक्ष्य लिइएको आयोजनाको बजेट साढे ६ अर्ब रुपैयाँ छ ।

कर्णाली करिडोर (उत्तर–दक्षिण) लोकमार्गअन्तर्गत खुलालु–सिमिकोट (हुम्ला) खण्डमा करिब १ सय ९६ किमि र हिल्सा सिमिकोट खण्डमा (हुम्ला) ८८ किमि सडक निर्माण गर्ने लक्ष्य छ । ०६५/६६ बाट सुरु भएको आयोजना ०७०/७१ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर सम्पन्न गर्ने समय संशोधन गरिएको छ । ०७९/८० मा सम्पन्न हुने गरी म्याद थपिए पनि अहिलेसम्म भौतिक प्रगति १ सय ४५ किमि खण्डको ७८ प्रतिशत छ ।

आयोजनाको कुल लागत ८ अर्ब १० करोड रुपैयाँ छ । ०७२/७३ मा सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकको अहिलेसम्म भौतिक प्रगति २९ प्रतिशत मात्र छ । चीनसँगको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई बढाउन र व्यापार सहजीकरण गर्ने उद्देश्यले यो सडकखण्ड निर्माण अघि बढाइएको हो ।

८२ किमि दूरीको यो सडक ०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य छ । १५ अर्ब ५० करोड अनुमानित बजेट रहेको यो सडकमा अहिले पुलको जग हाल्ने, पहाड कटिङ, गल्छीबाट रसुवागढीसम्मै पहिरो सफा गर्ने काम भइरहेको आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

०१४ सालमा कान्ति लोकपथको ट्र्याक खोल्न थालिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । ट्याक खुलेपछि पनि यो सडक खासै प्रयोगमा आएन । अहिले ७९ किमि दूरीको यो सडक निर्माण सुरु भएको छ । तोकिएकै समयमा निर्माण सम्पन्न हुने शर्माले बताए । सडक निर्माणको अवधि ०७८ भदौसम्म रहेको र हालसम्मको भौतिक प्रगति ८२ प्रतिशत रहेको कान्ति लोकपथ सडक योजना प्रमुख ज्ञानेन्द्रकुमार झाले जानकारी दिए ।

‘ललितपुर खण्डमा ४ सय मिटर पहाड कटिङको काम बाँकी छ,’ उनले भने, ‘बर्खाको समयमा निर्माण भइसकेको सडक जहाँजहाँ बिग्रिएको छ, ठेक्का लिएकै निर्माण व्यवसायीले बनाइदिनेछन् ।’ भट्टेडाँडादेखि छपेलीसम्म पहाड कटिङको काम बाँकी छ । सडक योजना ०६४/६५ मा सुरु भएको हो । ललितपुर खण्डमा २८ किमिमध्य १६ किमि कालोपत्र भएको छ । १२ किमि कालोपत्र गर्न बाँकी छ । मकवानपुर खण्डमा ५१ मध्ये १० किमि कालोपत्र गर्न बाँकी छ ।

०७५ पुसमा नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का सम्झौता भएको हो । यो खण्डको भौतिक प्रगति २ प्रतिशत मात्र छ । १ सय १५ किमि सडकको पूर्वी खण्ड ६५ र पश्चिम ५० किमि छ । ०८० साउनभित्र सडक विस्तार गरिसक्नुपर्नेछ ।

दाउन्ने–बुटवल खण्ड विस्तार गर्न ७ अर्ब ८६ करोड ३४ लाख र गैंडाकोटदेखि दाउन्नेसम्मको सडक विस्तार लागत ९ अर्ब १३ करोड १८ लाख रुपैयाँ छ । कोरोना संक्रमणका कारण अहिले काम प्रभावित बनेको आयोजनाको पूर्वी क्षेत्रका प्रमुख सुजन अधिकारीले बताए । साढे ३ वर्षमा सक्ने लक्ष्य रहेको आयोजनाको लागत अनुमान १७ अर्ब रुपैयाँ छ । 

कान्तिपुर दैनिकबाट