एजेन्सी - थाइल्याण्डको राजधानी बैंककमा रेल र बस एक आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । 

बैंककको रत्चाथेवी जिल्लामा रहेको एक रेलवे क्रसिङमा सोही दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

शनिवार दिउँसो करिव ३:४० बजे भएको यस दुर्घटनापछि विष्फोटसँगै आगलागी समेत भएको थियो । दुर्घटनामा अन्य केही कार र मोटरसाइकलहरू समेत परेका छन् । उद्धारकर्मीहरूले घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिनुका साथै उद्धार कार्य सञ्चालन गरेका थिए ।

यस घटनामा २० भन्दा बढी व्यक्तिहरु पनि घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

थाइल्याण्डका उप–यातायात मन्त्री सिरिपोङ आङ्कासाकुलकियातकाअनुसार ट्राफिक लाइट रातो भएका कारण बस रेलवे क्रसिङमै रोकिएको थियो । जसले गर्दा सुरक्षा ब्यारियर तल झर्न पाएको थिएन ।

सोही समयमा आएको मालबाहक रेल अत्यधिक वजनका कारण समयमै रोक्न नसक्दा उक्त दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।