काठमाडौं - संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि अनुसन्धान गर्न निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकमा सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिलको अडियो सार्वजनिक भएको भन्दै त्यसबारे सत्यतथ्य छानविन गर्न निर्देशन दिएका हुन् ।

समिति सदस्य समेत रहेका काँग्रेस सांसद तेजुलाल चौधरीले भने, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रीले राजीनामा दिँदैमा उन्मुक्ति दिन मिल्दैन । सत्यतथ्य छानविनका लागि अख्तियारलाई जिम्मा दिनुपर्छ,’

बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले उपसमिति बनाउन माग गरेका थिए, तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु त्यसमा सहमत भएनन् ।

त्यसैले सभापति भरत साहले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएको भनिएको अनियमिताबारे छानविन गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको छ ।