एमसीसीमा संशोधन असम्भव भएपछि व्याख्यात्मक टिप्पणीसहित पारित गर्यौं : प्रचण्ड
काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन अवस्थामा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता जस्ताको तस्तै पारित हुने खतरा देखिएपछि व्याख्यात्मक टिप्पणीसहित पारित गर्न बाध्य भएको खुलासा गरेका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेता लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे यस्तो खुलासा गरेका हुन् ।
उनले एमसीसीबारे माओवादी केन्द्रले प्रारम्भदेखि नै गहिरो अध्ययन र बहस गर्दै आएको र अन्त्यमा उचित निकास निकाल्न सफल भएको बताए ।
उनले एमसीसीबारे नेकपा बनेको बेला आफूले नेतृत्व गरेर कार्यदल गठन गरेको स्मरण गर्दै सो कार्यदलले “अनुमोदन गर्नु हुँदैन” भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको बताए ।
तर, एमाले र नेपाली कांग्रेस दुबै एमसीसीको पक्षमा दृढ रहेको देखेपछि संशोधन सम्भव नहुने निष्कर्षमा पुगेको भन्दै उनले भने, ‘त्यसैले व्याख्यात्मक टिप्पणीसहित आवश्यक परे आन्दोलन गर्ने बाटो खुला राखेर हामीले पारित गर्यौं।’
प्रचण्डले माओवादी केन्द्रले एमसीसी र आईपीएस (इन्डो प्यासिफिक स्ट्राटेजी) जस्ता अन्तर्राष्ट्रिय सहायतासम्बन्धी विषयमा सर्वाधिक स्पष्ट, सशक्त र देशहितको पक्षमा दृढ अडान लिएको दाबी गरे।
“भविष्यमा कुनै बदमासी भयो भने, आन्दोलन गर्नसक्ने वैधानिक आधारका रूपमा व्याख्यात्मक टिप्पणीलाई प्रयोग गर्न सकिन्छ,” प्रचण्डले स्पष्ट पारे।

.gif)



फेसबुक पेज Like गर्नुहोस