काठमाडौं - कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने तीन लाख ४८ हजार खोप आज नेपाल आइपुग्नेछ । 

सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् । अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको उक्त खोप यसअघि नै नेपालमा प्रयोग भइरहेको छ।

यस्तै, कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट सुरु हुँदै छ । यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र आउने छ । उनले आजलेखि शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने बताए ।

करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने उनको भनाइ छ । उनले असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेको समेत जानकारी दिए ।