मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैनः प्रचण्ड
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव सामान्य नभएको बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ७ मा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । चुनावका लागि अग्रगमन शक्ति र प्रतिगमन शक्तिका बेग्लाबेग्लै गठबन्धन बनेकाले निर्वाचन सामान्य नभएको उनको भनाई छ ।
अग्रगमन शक्तिहरूले संविधान, गणतन्त्र जोगाउँदै समृद्धिको दिशातर्फ अगाडि बढ्ने भएकाले संविधानको रक्षा, स्थिरता र समृद्धिका पक्षधरले चुनाव जित्नुपर्ने उनले बताए ।
‘यो चुनावमा दुईवटा गठबन्धन आमानेसामने भएका छन्। एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर । एउटा संविधान मास्नेतिर र अर्को संविधान रक्षा गर्ने पक्षमा । त्यसकारण मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैन । ’ प्रचण्डले भने, ‘देशले जित्ने हो कि होइन । संविधान र लोकतन्त्रले जित्ने हो कि होइन जनताले जवाफ दिनुपर्ने बेला आयो ।’
काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई प्रतिनिधि सभा सदस्यको उम्मेदवार छिन् । नेपाल समाजवादी पार्टीकी मानुषीले माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दैछिन् । सोही क्षेत्रमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि श्याम कुमार घिमिरे उम्मेदवार छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस