काठमाडौं,रौतहट - रौतहटमा गोली प्रहारबाट एक जना किशोरीको हत्या भएको छ।

माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी १७ वर्षिया छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।

गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली लागेको छ । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकी आमा सिता देवी साह राति शौच गर्न बाहिर निक्लिएको मौका छोप्दै अज्ञात व्यक्तिले घरभित्र गएर अमृताको टाउकोमा गोली प्रहार गरेको बताइएको छ ।

अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका रुपेश साहसँग मागी बिहे भएको थियो । तर, साउन महिनामा सम्बन्ध विच्छेद भएपछि उनी माइतीघरमा बस्दै आएकी थिइन् । घटनामा संलग्नको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।