एजेन्सी - रूसमा संसदीय निर्वाचनको अन्तिम दिन युक्रेनले ठूलो ड्रोन हमला गरेको छ ।

रुसी अधिकारीहरूका अनुसार शनिबार रातिदेखि आइतबारसम्म रूस, क्रिमिया र ब्ल्याक सी क्षेत्रमा १ हजार ११० भन्दा बढी युक्रेनी ड्रोन खसालिएको छ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीतर्फ लक्षित ४५० ड्रोन नष्ट गरिएको बताएका छन्। उनले यसलाई मस्कोमाथि भएको अहिलेसम्मकै ठूलो ड्रोन हमला भएको दाबी गरेका छन्।

हमलाका क्रममा मस्कोको तेल प्रशोधन केन्द्र र एउटा आवासीय भवनमा क्षति पुगेको बताइएको छ। मस्को वरपरको क्षेत्रमा भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र २० जना घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो।

रुसी अधिकारीहरूले उक्त हमला निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने उद्देश्यले गरिएको दाबी गरेका छन्। सोब्यानिनले आक्रमणबाट चुनाव प्रभावित पार्ने प्रयास सफल नभएको बताएका छन्। युक्रेनले भने उक्त आरोपबारे तत्काल औपचारिक प्रतिक्रिया दिएको थिएन।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनले ड्रोन र क्षेप्यास्त्रमार्फत रूसका तेल तथा सैन्य रसदसम्बन्धी पूर्वाधारलाई निशाना बनाएको बताएका छन् ।