काठमाडौं-इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले आफूहरू अमेरिकासँग लड्न र वार्ता गर्न दुवैका लागि तयार रहेको बताएका छन्। आइतबार संसद्लाई सम्बोधन गर्दै उनले इरानले मध्यस्थकर्ताहरूमार्फत अमेरिकालाई वार्ताका लागि आफ्ना सन्देश र सर्त पठाएको बताए।

गालिबाफले भने, ‘हामीले लड्नु पनि पर्छ र वार्ता पनि गर्नुपर्छ।’ उनले अघिल्ला सर्त  पूरा नभएसम्म वार्ता पुनः सुरु गर्ने र हर्मुज स्ट्रेट खोल्ने प्रश्नै नउठ्ने बताए। यसअघि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले पनि मध्यस्थताकर्ताद्वय कतार र पाकिस्तानमार्फत अमेरिकालाई वार्ताका लागि आफ्ना सर्तहरू बुझाएको बताएका छन्। 

उनले भनेका छन्, ‘इरानले कतारी र पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत अमेरिकालाई वार्ताका लागि आफ्ना सर्तहरू बुझाएको छ र अब राष्ट्रपति ट्रम्पको प्रतिक्रियाको पर्खाइमा छ।’ बीबीसी फारसीका अनुसार, उनले इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, इरानको रोक्का सम्पत्ति फिर्ता र नौसेना नाकाबन्दी हटाइनुपर्ने छन्। 

योसँगै रेजाइले चेतावनी पनि दिएका छन्, ‘इरानमा आक्रमण भएमा इरानी सेनाले यस क्षेत्रमा रहेका अमेरिकी आधार र सुविधालाई थप शक्तिका साथ आक्रमण गर्नेछ।’ आणविक कार्यक्रमका विषयमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले इरानले आणविक अप्रसार सन्धि (एनपीटी) बाट फिर्ता हुने निर्णय गरिनसकेको र यो कुरा अमेरिकाको व्यवहारमा निर्भर बताएका छन्। 

उनले थपे, ‘इरानले अझै पनि आणविक हतियारसम्बन्धी पूर्वनेताको फतवा पालना गर्छ र आफ्नो आणविक सिद्धान्त परिवर्तन गरेको छैन, यद्यपि भविष्यमा के होला, हामीलाई थाहा छैन।’ रजाईले साउदी अरेबिया र यमनबिचको युद्ध अन्त्य गर्न पनि आह्वान गरे। साथै उनले यमनका हुथी विद्रोही पनि साउदीसँग सम्झौता गर्न इच्छुक रहेको विश्वास व्यक्त गरे।