काठमाडौं - उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिनासहित पानी परेको छ । स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले चट्याङसहित असिना पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मतीसहित प्रदेश एक, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी परेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । असिना पानीले कतिपय ठाउँमा बालीनालीमा क्षती समेत पुर्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा प्रि–मनसुनको गतिविधि सक्रिय रहेको र यस्तो बेलामा हावाहुरी र चट्याङको जोखिम हुन सक्ने भन्दै सजगता अपनाउन अनुरोध गरेको छ ।

शुक्रवार (आज) राती प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा मौसम बदली हुने र शनिवार (भोलि) देशका धेरैजसो ठाउँमा बादल लागेर विभिन्न ठाउँमा मेघगर्जन, हावाहुरी, चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वन क्षेत्रमा लागिरहेको डढेलो र लामो समयदेखिको खडेरीका कारण कृषिमा परेको असरका कारण पानी पर्नुलाई राम्रो मानिएको छ । अहिलेको मनसुनी गतिविधिले तरकारी र फलफूलसहित धान बालीलाई सकारात्मक योगदान पुर्‍याउने कृषिविज्ञ बताउँछन् ।