काठमाडौं - विवेकशील नेपाली दलले प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवामाथि अलिलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।

सोमबार उक्त दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । ‘केही दिन अगाडि गोरखामा भएको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘बुढी गण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अरब बाँडेर खाएको र परियोजना अलपत्र पारेको’ गम्भीर भ्रष्टाचारजन्य आरोप लगाएकाले यो प्रकरणको अविलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) लाई विवेकशील नेपाली दल आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

विवकेशीलले ‘आफूसँग त्यसको प्रमाणसमेत रहेको’ बताएका पूर्व प्रधानमन्त्री भट्टराईलाई समेत ती प्रमाणहरू अदुअआमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

‘यस प्रकरणमा आरोपित व्यक्तिहरूमध्ये दुइ जना भूतपूर्व र एक जना बहालवाला प्रधानमन्त्री रहेका कारण व्यक्तिगत पहुँच तथा पदीय दुरुपयोग गरी प्रमाण नष्ट गरिन सक्ने तर्फ पनि अदुअआको ध्यान जानु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो विषय सामान्य अनुचित कार्य मात्र नभएर सार्वजनिक हित प्रतिकूलको विषय र राष्ट्रिय महत्त्वको विषय समेत भएकाले अख्तियारले उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउनु पर्दछ ।’

विवेकशीलले अख्तियारको रिक्त प्रमुख आयुक्त र आयुक्तहरु नियुक्त गर्ने विषयमा पनि हरेक नेपालीले गम्भीरतापूर्वक हेर्नुपर्ने बताएको छ । सांसद पौडेलले भनेका छन्, ‘एक अर्को प्रसङ्गमा अदुअआमा रिक्त प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त गर्ने विषयमा संवैधानिक परिषद्को अध्यक्ष र सदस्यको रूपमा क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलको नेता शेरबहादुर देउवाले आफ्ना विरुद्धको छानबिन गर्नका लागि कस्ता पात्रहरू कुन प्रक्रियाबाट छनौट गर्ने हुन् ? हरेक नेपालीले गम्भीरतापुर्वक हेर्नुपर्ने छ ।’

नेपाली कांग्रेसले आइतबार नै भट्टराईको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै एक विज्ञप्ति निकालिसकेको छ । कांग्रेसको प्रतिक्रियापछि पूर्वप्रधानमन्त्री भट्टराईले एक ट्वीट सन्देशमार्फत् छानबिन अगाडि बढे आफू सघाउन तयार रहेको बताइसकेका छन् ।