काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । 

गत पुस १० गते तत्कालीन नेकपाका प्रचण्ड-माधव पक्षका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित वाग्मती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर, सर्वोच्च अदालतले एकिकृत नेकपालाई खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्यूँताएपछि  खनाल नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्तावबाट समर्थन फिर्ता लिएका हुन् । 

खनाल-नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको जानकारी दिएका छन् । योसँगै मुख्यमन्त्री पौडेलको पद जोगिएको छ । बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत छ । कुल ११० सांसद रहेको प्रदेशसभामा नेकपा एमालेको मात्र ५७ जना छन् ।