सुर्खेत - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नेताहरूसँगको निकटताको फोटो देखाएर टिकटको दाबी नगर्न नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन्।

शनिबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कुनै नेतासँग खिचिएको तस्बिर देखाउँदै आफू निकट रहेको र टिकट पाउने दाबी गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे ।

नेताहरू विमानस्थलदेखि विमानस्थलसम्म पुग्दा कार्यकर्ता र समर्थकले घेरिने तथा उनीहरूसँग तस्बिर खिचिने गरेको उल्लेख गर्दै उनले त्यही तस्बिरलाई उम्मेदवारीको आधार बनाउने प्रयास नगर्न आग्रह गरे।

‘एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू कार्यकर्ता साथीहरूबाट घेरिन्छन्, तिनै साथीहरू वरपर फोटोमा देखिन्छन्। दिनकै तस्बिर देखिन्छ,’ उनले भने, ‘यिनै तस्बिर देखाएर उस्तै परे मै हुँ यसपटकको उम्मेदवार पनि भन्न भ्याउँछन् होला साथीभाइहरू। म तपाईंहरूको त्यो प्रेमप्रति कृतज्ञ छु। तर त्यो फोटो बेच्न त पाइँदैन।’

उनले नेतासँग खिचिएको तस्बिरलाई सुन्दर सम्झनाका रूपमा लिन आग्रह गर्दै त्यसलाई राजनीतिक पहुँच र टिकट पाउने आधारका रूपमा प्रस्तुत नगर्न पुनः चेतावनी दिए।