काठमाडौं - गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गर्दै ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ ।
मन्त्रालयको २०८३ मङ्सिर ११ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ । उनको स्थानमा गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, अध्यागमन विभाग, कालिकास्थानका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
मन्त्रालयले अन्य पाँच जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरेको छ ।
जसअनुसार गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

.gif)


