काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले विपक्षी गठबन्धनका सांसदहरूले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्नुअघि नै राजीनामा दिने तयारी गरेका हुन् । 

भावी रणनीति तय गर्नको लागि एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक हाल बसिरहेको छ । मुख्यमन्त्री निवासमा बसेको बैठकले अविश्वासको प्रस्ताव सामना गर्ने कि मुख्यमन्त्रीबाट राजिनामा दिने दुईमध्ये एक रोज्ने विषयमा निर्णय गर्ने सम्भावना छ । प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजे बस्ने गरी प्रदेश सभा बैठक आह्वान गरेका छन् । 

८० सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा रहेको छ । प्रदेश सभामा नेकपा एमाले माधव नेपाल पक्षसहितका ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ । विपक्षी गठबन्धनमा भने सभामुख बाहेक ४१ जना सांसदको सर्मथन छ । जसमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् ।