काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षमा कोरोना भाइरसविरुद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना गरेका छन्।

नयाँ वर्ष २०७७ सालकोे शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षले मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास समेत व्यक्त गरेका छन्।

यस्तो छ प्रचण्डको शुभकामना सन्देश

नयाँवर्ष २०७७ को उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु । सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना (कोभिड–१९) भाइरस विरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु ।

यस सन्दर्भमा म आम नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न विशेष अपील पनि गर्दछु । 

१ बैशाख, २०७७

 पुष्पकमल दाहाल ‘प्रचण्ड’ 

अध्यक्ष