काठमाडौं - नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागारमा रहेका निलम्बित सासंद रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार बिहान चौधरीलाई भेट्न बस्नेत कारागार पुगेका हुन् । 

जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विषयमा अलमलमा परिरहेको बेला बस्नेतले चौधरीलाई भेटेका हुन् । 

उनीहरुबीच रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलगायतको विषयमा कुराकानीमा भएको स्रोतले बतायो । जसमा चौधरीलाई रिहा गर्न सरकार सकरात्मक रहेको सन्देश बस्नेतले दिएका छन् । 

बिहिबार पनि थारु अगुवालाई भेट्‍न माइतीघर मण्डला पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यस मुद्धामा छलफल गर्न सरकार तयार रहेको बताएका थिए । 

प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको मृत्यु भएको थियो । घटनाको योजनाकार भएको भन्‍दै जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो, जसलाई उच्च अदालतल दिपायलले सदर गरेको छ ।