सरकारले ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद : कांग्रेस
काठमाडौं - नेपाली कांग्रेसले कोरोना संक्रमितको लागि सरकारले अस्पतालमा बेड छैन भन्नु लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्ने कांग्रेसको भनाई छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो । तर संकटमा अपील गरिरहंदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ । तर ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ ।’
कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा काम गर्न र कोरोनाविरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपीलसमेत गरेको छ ।
‘बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो । संक्रमणको विस्तार कुन हदसम्म हुन सक्दछ भन्ने बिज्ञ अनुमान र विश्लेषण छ । त्यो हद सामना गर्न बेड लगायतको बिस्तारमा सरकारसंग बजेट, पुर्वाधार या इच्छाशक्ति के अभाव छ । निजि क्षेत्रका अस्पतालहरुलाई कोरोना विरुद्धको संघर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने । राजनैतिक दलहरु, संघसंस्था र समाजसंग सरकारले गरेको सहयोग अपेक्षा के हो । फ्रन्टलाईनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने । खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तिब्रतर छ । यी समग्र बिषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ़ ढंगले प्रस्तुत हुन जरुरी छ ।’ विज्ञप्तीमा भनिएको छ ।
परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकार सजग रहनुपर्ने कांग्रेसको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस