काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बसेको पूर्व माओवादीका स्थायी समिति सदस्यहरुको छलफल सकिएको छ ।

पार्टीभित्र पूर्वमाओवादीको धार एक ढिक्का बनाउने सहमति भएको छलफलमा सहभागी एक नेताले जनतापाटीलाई जानकारी दिए । उनका अनुसार आगामी दिनमा पूर्व माओवादी र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच एकमत भएर जाने सहमति भएको छ । छलफलमा प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्ष केपी शर्मा ओलीको एक पदबाट राजीनामा माग्नेमा एकमत हुने सहमति पनि भएको छ ।

भेलामा पूर्व माओवादी स्थायी समितिका १७ जना सदस्यहरु सहभागी थिए । जसमा लेखराज भट्ट भने सहभागी भएका थिएनन् । बिहान केहीबेर बैठकमा बसेर बाहिरिएका गृहमन्त्री रामबहादुर थापा 'बादल' फेरि बैठकमा सहभागी भएका थिए । उनले सुरुमा प्रधानमन्त्री ओलीले कुनै पदबाट पनि राजीनामा दिनु नपर्ने धारणा राख्दै आएका थिए ।\

शनिबार बेलुका बसेको स्थायी समिति बैठकमा ओलीको आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई समर्थन गरेका प्रचण्डले आइतबार बिहान नेता नेपाल, झलनाथ खनाललगायका नेतासँग छलफल गर्दै ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका थिए ।

नेता नेपालले प्रधानमन्त्री ओलीसँग प्रचण्डले चोचोमोचो गरेको टिप्पणी गरेपछि आफ्ना पक्षका नेता तथा नेपाल पक्षका नेताहरुको मन जित्न प्रचण्ड कसरतमा छन् । छलफल बिहान ८ बजेदेखि दिउँसो १२ः१५ सम्म चलेको थियो ।