काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ। 

सत्ता समिकरणबारेसँग प्रधानमन्त्री ओलीसँग छलफल गर्न मंगलबार जसपाका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच भएको छलफलबाट कुनै निष्कर्ष ननिस्किएको एमालेका नेता सुवास नेम्वाङले जानकारी दिए । 

थप छलफल अगाडि बढाएर वार्तालाई निरन्तरता दिने सहमति भएको उनको भनाई छ । ‘आजको छलफलमा पनि पुरानै कुरा दोहोरिए, कुनै सहमति हुन सकेन’ उनले भने, ‘हामी छलफललाई निरन्तरता दिन्छौँ ।’

नयाँ सरकारको गठबन्धनका लागि हाल जसपा निर्णयक बनेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अनिर्णित छ । जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा छन् । तर, संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली इतरको सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् ।