बालुवाटार जग्गा प्रकरण : दीप बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।
बालुवाटार जग्गा प्रकरणमा आफूलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने विशेष अदालतको फैसला गलत रहेको भन्दै थुनामुक्त गरी पाउँ भनी बस्न्यातले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । बस्न्यातको पक्षबाट प्रज्ज्वल अधिकारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै उनलाई कोभिड पोजेटिभ भएको प्रमाणसमेत पेस गरिएको छ ।
बन्दी प्रत्यक्षीकरण र कोभिड संकट बाहेकका अरु मुद्दा अदालतले नहेर्ने भएपछि बस्न्यात पुनः थुनामुक्तिको माग गर्दै अदालत गएका हुन् । तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सोही मुद्दामा विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । बस्न्यात हाल डिल्लीबजार सदरखोरमा रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस