आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली दर्ता गर्न पाउने
काठमाडौं - निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ।
आज बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । सरकारले अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ताका लागि समय दिने सकिने गरी मतदाता नामावली ऐनलाई संशोधन गरेपछि उक्त बाटो खुलेको हो ।
ऐनको व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणा भएको दिनबाट मतदाता नामावली संकलनमा रोक लागेको थियो । ऐनको दफा ४ मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने उल्लेख छ । सोही व्यवस्थाका कारण २७ भदौमा निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन रोकिएको थियो ।
ऐनमा रहेको उक्त व्यवस्थाका कारण ठूलो संख्यामा ‘जेनजी’ पुस्ता मतदान गर्नबाट वञ्चित हुने थिए । जेनजी आन्दोलनको बलमा २७ भदौको राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको र सोही रात प्रतिनिधिसभाको विघटन गरी २१ फागुनमा नयाँ निर्वाचनको घोषणा गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए । मतदाता नामावलीमा नाम लेखाउन छुटेकाहरूलाई अवसर दिने गरी ऐनमा संशोधन गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने उनको भनाइ छ।
सरकारले ल्याएको अध्यादेशमा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अवसर सम्बन्धमा भने केही उल्लेख छैन । नियुक्ति पाएलगत्तै गृहमन्त्री ओमप्रकाश अर्यालले प्रवासी नेपालीलाई पनि यही निर्वाचनमा मतदानको अधिकार दिइने बताएका थिए । तर, त्यससम्बन्धमा अध्यादेशमा केही समेटिएको छैन ।
२०८१ चैत्र मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको संख्या १ करोड ८१ लाख ४८ हजार ६ सय ५४ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस