काठमाडौं - बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ ।

भारतबाट फर्किएको दिन उनको मृत्यु भएको हो । पाटन नगरपालिका–६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ती पुरुषको राति क्वारेन्टाइनमै मृत्यु भएको हो । साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको बताइको छ ।

मृतकको स्वाबको नमूना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइएको छ । उनीसँगै बेंगलोरबाट १३ जना पनि हिजो बिहानै पाटन पुगेका थिए ।

उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन् । यसअघि पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको जेठ २० मा मृत्यु भएको थियो।

पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ बर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।