परिवर्तनमाथि प्रश्न उठाउने तत्व सक्रिय भएः प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले परिवर्तन माथि प्रश्न उठाउने तत्वहरु सक्रिय हुँदै गएको बताएका छन् ।
दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधान जारी भएको छोटो समयमै यस्ता तत्वहरु विभिन्न ढंगले अगाडि बढ्न खोजेको बताए ।
‘संविधानमा धेरै कुराहरु मौलिक अधिकारको रुपमा अन्य अधिकारको रुपमा व्यवस्था गरिएको छ । तर तीन चार वर्ष नहुँदै फेरि एक पटक यो परिवर्तनमाथि प्रश्न उठाउने तत्व विभिन्न ढंगले अगाडि आउन खोजेका छन्’, प्रचण्डले भने ।
केही दिन अघि भएको सर्वदलिय बैठकबाट सबै दलहरुले संविधान कार्यान्वयका लागि देखिएका समस्यासँग मिलेर लड्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्दै प्रचण्डले राजनीतिक परिवर्तनका सबै सहभागिहरु, नयाँ संविधानमा केही मुलभूत अधिकार प्राप्त गरेका वर्ग तथा समुदाय एक ठाउँमा उभिन जरुरी रहेको बताए ।
पूर्व राजातर्फ संकेत गर्दै प्रचण्डले भने, ‘हिजो सत्ताच्युत गरिएका केही मानिसहरुले समाजमा फैलाउन खोजेको अन्यौल र भ्रमका सम्बन्धमा हामीले बोल्नुपर्छ भनेर बैठकमा छलफल भएको छ । संघिय लोकतानिन्त्रक गण्तन्त्रको सन्दर्भमा सबै राजनीतिक दलहरु एक ठाउँमा छौँ भन्ने कुराको हामीले सन्देश दिएका छौँ ।’
प्रचण्डले राजनीतिक नेतृत्व र सरकारले जन अपेक्षा अनुसार एकसनमा जान ढिलो गरेपछि अर्कोले रियाक्सन गर्न सक्ने तर्फ सचेत गराएका छन् । ‘त्यो रियाक्सन राष्ट«का लागि धेरै चर्को पर्न सक्छ । जनताको लागि महंगो पर्न सक्छ । अरु कुनै पनि तरिकाबाट जनताको विश्वास जित्न सकिँदैन’ प्रचण्डले भने, ‘छिटोभन्दा छिटो आफ्ना काम कारवाहीबाट जनतालाई समृद्धि सम्भव छ । विकास सम्भव छ । संविधान कार्यान्वयन सम्भब छ भन्ने देखाउनुपर्छ ।’
अहिलेको परिवर्तन एक दुई जनाले गर्दा नआएको भन्दै उनले संविधान कार्यान्वयनलाई साझा जिम्मेवारीको रुपमा सबैले लिनुपर्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस