काठमाडौं - संघीय संसद अन्तर्गत विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दैछन् ।

संसद सचिवालयका अनुसार आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, अर्थ समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका विषयमा छलफल हुनेछ ।

बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी रहेको छ ।