बलेवा - प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् ।

कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए । अतिरिक्त गणित विषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको र उनी बेहोस नहुन्जेलसम्म कुटपिट गरेको शर्माले गुनासो गरे ।

“छोराका साथीहरुले भनेको सुन्दा धेरैबेर कुटपिट गरेपछि ऊ बेहोस भएको थियो”, पौडेलले भने, “माथिल्लो दाँत खसेकाले त्यहीँका शिक्षकले खबर गरेपछि हामी पुगेर ल्याएका हौँ”, पीडितकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै उपचार गरेर राखिएको छ ।

जिल्ला सदरमुकामा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेका पौडेललाई राम्रो पढाई भएको भन्दै कक्षा ८ मा गणेश मावि लगिएको थियो । बाबु प्रेमप्रसाद शर्मा पौडेल पनि शिक्षण पेशामा छन् ।